काठमाडौं । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिना गरी फरार लामो समयदेखि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले शर्मालाई पश्चिम नेपालबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आज नै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकेर बसिरहेका थिए ।
शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानूनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ। बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए। त्यसैका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए।
सूचना जारी गरी सीआईवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ।