थाइल्यान्डविरुद्ध नेपालको सानदार जित

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डविरुद्ध २ सय २५ रनको सानदार जित दर्ता गरेको छ। नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो।

थाइल्यान्डका लागि इशान बनर्जीले १६ र दानुफोन फुयानग्योपिनितले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालको घातक बलिङसामु थाइल्यान्डका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।

थाइल्यान्डलाई कम स्कोरमा रोक्न सन्तोष यादवले ३।२ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ५ विकेट झारे।अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिए। अविशेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए।

त्यसअघि मलेसियाको बांगीमा बुधबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १ सय १० रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको थियो।

सुर्यांशु ५५ बलमा ३ चौका मद्दतमा ४० रनमा जित सदाको बलमा बोल्ड आउट भए। ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका निरज कुमार यादव ७४ रन बनाउँदा क्याच आउट भए। इसान बानेजीको बलमा जित सदाको हातबाट निरज क्याच आउट भए।

चौथो विकेटका लागि नरेन भट्ट र सन्तोष यादवले ७१ रनको साझेदारी गरे। नरेन ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे। सन्तोष ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा बोल्ड आउट भए।

कप्तान अभिषेक तिवारी १४, आशिष लुहार १३, दिपुकुमार ६ र अशोक धामी ५ रनमा आउट भए।थाइल्यान्डका निटपाखन मनुवुन, फनुवत देसुङनोएन र इशान बानेर्जीले समान २ विकेट लिए। जित सादा र पियावत नोद्रीले समान एक एक विकेट लिए।

थाइल्यान्डविरुद्ध जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ। नेपाल रहेको समूह एमा थाइल्यान्ड र मलेसिया छन्। समूह एबाट नेपाल र मलेसिया अन्तिम चारमा पुगेका छन्।

समूहको पहिलो खेलमा मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो। समूह चरणको दोस्रो खेलमा नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ।

समूह बीमा सिंगापुर, हङकङ, इन्डोनेसिया र मालदिभ्स छन्।

कमेन्ट गर्नुहोस्