राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्स र प्रहरी महानिरीक्षक कुँवरबीचबीच शिष्टाचार भेट

काठमाडौँ । संयुक्त राष्ट्रसंघका शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच आज भेटवार्ता भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज भएको शिष्टाचार भेटमा उपमहासचिव ल्याक्रोइक्सले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसङ्घको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताए ।

भेटमा उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका नेपालस्थित आवसीय प्रतिनिधि हन्ना सिनगर हम्डी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्