काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
मंगलबार पक्राउ परेका चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक अदालतले अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।
प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको छ।
प्रहरीले सात जनालाई पक्राउ गरेपछि तीन जना मालपोत कार्यालयका पूर्व कर्मचारी भने सर्वोच्चको अन्तरिम आदेशका कारण रिहा भएका थिए। उनीहरु ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यका लिखत कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन्।
प्रहरीले अन्य ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुबारे प्रहरीले खुलाएको छैन। उनीहरुको खोजी तीव्र पारेर धमाधम पक्राउ गर्दै बयान गराउने प्रहरीको तयारी छ।