रहेनन् गायक तथा अभिनेता रविन तामाङ

काठमाडौं । चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ विष्णुमति चिसेनीस्थित घरमा मंगलबार बेलुका उनलाई मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट भएको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन। हाल उनको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन) ’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।

कमेन्ट गर्नुहोस्