काठमाडौं । एसईईको नतिजा प्रकाशन भएसँगै काठमाडौँ महानगरपालिकाले महानगरभित्रका शिक्षण संस्थाहरूलाई कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा नतिजा प्रकाशित भएको १५ दिनसम्मको समय राख्न आग्रह गरेको छ ।
महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै देशका टाढा तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आउने विद्यार्थीहरूले आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै सो अवधिको भर्ना कार्यक्रम तय गर्न आग्रह गरेको हो ।
महानगरले शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधि राख्दा दुर्गम क्षेत्रका विद्यार्थीलाई असर पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरेको छ ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन पनि शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।