काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं आउँदा मंगलबार बिहान सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नम्बर ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको खबर आएको बताइन्।
‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताउनु भएको छ,’ उनले भनिन्,‘हेलिकप्टर क्षतविक्षत छ भन्ने छ। विस्तृत विवरण आएको छैन।’
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिएको बताए ।
‘लामाजुरा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। कुहिरो लागेकोले हेलिकप्टरबाट खोजी गर्न अहिले असम्भव भयो, प्रहरीहरू केही माथिसम्म मोटरसाइकलमा र त्यसपछि हिँडेर त्यसतर्फ जाँदैछन्,’ उनले भने।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।
मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।