काठमाडौं । नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी दाहालको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गरे । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।
आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, छोरीहरु रेणु र गंगा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।