मिटरब्याजी विरुद्धको विधेयक सर्वसम्मतिले पारित, अब मिटरब्याज फौजदारी कसुर

काठमाडौं । मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले विधेयक पारित भएको हो ।

अनुचित आर्थिक लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेन सम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ सरकारले गत वैशाख २० गते अध्यादेश ल्याएको थियो ।

मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्यविधि संहिता, २०७४, मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न जारी भएको उक्त अध्यादेश प्रतिनिधि सभाबाट गत वैशाख २७ गते र राष्ट्रिय सभाबाट गत जेठ ५ गते स्वीकृत भएको थियो । संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन सरकारले अध्यादेश प्रतिस्थापन गर्न मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको थियो । यो विधेयक पारित भएसँगै मिटरब्याजमार्फत ठग्नेहरूलाई कानुनी प्रक्रियाभित्र ल्याउन सकिने भएको छ ।

मिटरब्याज पीडितहरूले लामो समयदेखि माइतीघर मण्डलामा मिटरब्याजको पासो रोक्ने कानुन बनाउन निरन्तर रूपमा आन्दोलन र सरकारलाई खबरदारी गर्दै आइरहेका थिए ।

कमेन्ट गर्नुहोस्