एजेन्सी । अमेरिकामा पछिल्लो दुई सातादेखि अत्याधिक गर्मी बढेको छ । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्र लुको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ । अत्यधिक गर्मीबाट झण्डै ११ करोड अमेरिकी प्रभावित भएका छन् ।
फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टनसम्म पनि गर्मीको लहर चलेको छ । ३८ भन्दा बढी शहरमा तापक्रम वृद्धिले नयाँ रेकर्ड कायम गर्न सक्ने अनुमान गरिएको छ । लस भेगासमा तीव्र गर्मीको लहरले शहरको उच्च रेकर्ड ४७ दशमलब २ डिग्री सेल्सियसलाई तोड्ने चेतावनी मौसमविद्हरुले दिइरहेका छन् ।
संसारकै सबैभन्दा तातो ठाउँहरू मध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीमा आइतवार ५३ दशमलब ९ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो पृथ्वीकै सबैभन्दा तातो तापक्रम मापन हो । गर्मीकै कारण लास भेगासका प्रायस् भीडभाड भएका सडकहरू सामान्य भन्दा धेरै खाली भएका छन् ।
अध्यधिक गर्मीका कारण चिसो खोज्दै होटेलका झरना तथा स्वीमिङ पुलहरुमा मानिसहरुको भीड लागेको छ । लस भेगास र नवाडा जस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने गरेको छ ।