भारत ए लाई जितका लागि नेपालले दियो १६८ रनको चुनौती

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट अन्तर्गत नेपालले भारत ए लाई १६८ रनको चुनौती दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३९ दशमलब २ ओभरमा १६७ रनमा अलआउट भएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले।

उनले ८५ बलमा ६५ रन जोडे। गुल्सन झाले ३० बलमा ३८ रनको महत्वपूर्ण योगदान गरे। उनले २ छक्का र २ चौका प्रहार गरे। देव खनालले १५, सोमपाल कामीले १४, आसिफ शेख ७, पवन सर्राफ ६‚भीम सार्कीले ४ र ललित राजवंशीले ३ रन बनाउँदा कुशल भूर्तेल र कुशल मल्ल शून्यमा आउट भए । किशोर महतो २ रनमा नटआउट रहे।

भारत ए का लागि निशान्त सिन्धुले सर्वाधिक ४, राजवर्धन हंगारगेकरले ३, हर्षित रानाले २ र मानव सुथरले १ विकेट लिए। भारत लगातार दोस्रो जितको खोजीमा छ। भारतले पहिलो खेलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई आज जित्नै पर्ने दबाब छ ।

कमेन्ट गर्नुहोस्