काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गोरखा जिल्लाको सिरुङ्टारमा बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय समुद्घाटन गरेका छन् । यससँगै देशको सबैभन्दा ठूलो जलाशययुक्त बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको कार्यालय संचालनमा आएको छ ।
अब बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने छ । आयोजनाको पछिल्लो डिपीआर अनुसार दुई खर्ब ७३ अर्बको प्रारम्भिक लागत अनुमान गरिएको छ । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुलेको छ । आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बनाइने छ । उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ ।
सरकारले आयोजनालाई अगाडि बढाउन यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिएको थियो । भने आजबाट साइट कार्यालय संचालन ल्याइएको हो । यस्तै बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । बुढिगण्डकीका लागि पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।