सुन प्रकरणको अनुसन्धान गर्न १० दिनको म्याद

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको समय दिएको छ ।

बिहीबार आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए ।

अहिलेसम्म विभागले एक चिनियाँसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये ६ जनाको बिहीबार म्याद थप भएको हो । बिहीबार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जेछियाङ रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले मंगलबार राति हङ्कङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । घटना भने बुधबार मात्र सार्वजनिक भएको थियो ।

कमेन्ट गर्नुहोस्