काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माफी मागेका छन् ।
आफूसँग सुचना छ भन्दै सामाजिक सञ्जाल फेसबुकमा गलत अफवाह फैलाएका बस्नेतले शनिबार बिहान गृहमन्त्री कै निवासमा पुगी गृहमन्त्रीलाई भेटेर माफी मागेका हुन् । यसको सहजीकरण प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले गरेका थिए ।
सय क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट चेकजाँच पास भएपछि पक्राउ परेको विषयमा उनले गृहमन्त्रीलाई जोडेर गलत कुरा लेखेका थिए । बस्नेतले माफी माग्दै गृहमन्त्रीलाई भनेका थिए, ‘मेरो नियत त गलत थिएन तर बुझाईमा फरक परेछ, मेरो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुखी छु, अब गल्ती दोहोर्याउदिन ।’
उनले गृहमन्त्रीले पछिल्लो समय भ्रष्टचारविरुद्ध चालिरहेको कदममा आफ्नो साथ रहेको र रहने समेत बताएका थिए । यससँगै गृहमन्त्रीको सचिवालयको तर्फबाट साइबर ब्युरोमा परेको उजुरी फिर्ता भएको छ ।