चिनियाँ नेता च्या जुन आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताले पछिल्लो समय नेपाल भ्रमणलाई प्राथमिकतामा राखेका छन् भने नेपाली नेताहरू पनि चीन भ्रमणलाई प्राथमिकतामा राखेर चीन भ्रमण गरीराखेका छन् । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै आज अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो।

युयान च्या जुनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छिन्। चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छिन्।

शनिबार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन्। च्याले कम्युनिस्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ। आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमण गर्ने तयारी छ। नेपालमा भारत र अमेरिकी नेताहरूको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरूको नेपाल आउने क्रम पनि बढेको छ।

युयान च्या जुन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र चोङछिङ नगरपालिका समितिका सचिव समेत हुन् । उनी आज १२ः१५ बजे काठमाडौं आइपुुग्नेछन् । उनी दुई दिन नेपाल रहनेछन् ।

कमेन्ट गर्नुहोस्