माओवादी केन्द्र र चिनियाँ नेताबीच भेटवार्ता, ‘समाजवादको यात्रामा चिनियाँ सहयोगको अपेक्षा’

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र) का नेतासँग भेटवार्ता गरेको छ ।

आइतबार साँझ काठमाडौँको होटल द्वारिकाजमा भएको भेटवार्तामा दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्धका विविध आयाममा कुराकानी भएको थियो । भेटमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका थिए ।

“भेटवार्तामा आगामी दिनमा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ, दुई देशबीचका सरकारबीचको सम्बन्धलाई सुमधुर तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा छलफल भयो”, भेटमा सहभागी माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले भने, “नेपालको विकास प्रक्रियामा चीनले दिँदै आएको सहयोगलाई आगामी दिनमा अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भयो ।”

चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुन सक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिए। माओवादी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार मुलुकको समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसमा चीनको सहयोग महत्त्वपूर्ण हुने बताएका थिए ।

चिनियाँ प्रतिनिधिमण्डलले नेपालको विकासमा चीनले सहयोग गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने विश्वास दिलाएको नेता शर्माले जानकारी दिए । चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए ।

भेटमा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन र हरिबोल गजुरेल, सचिव शर्मा र गणेश साह लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्