काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो ।
फार्मेसीहरूले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाइरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पूरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि स्वास्थ्यमन्त्री मोहन बस्नेतले देशभरि नै फार्मेसीहरूको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।
उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियमविपरीत सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेतपत्र दिएको छ । मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए ।
अनुगमन टोलीले सोमबार साझ मन्त्री बस्नेतसमक्ष टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका बिषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरूका अनुसार अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर फार्मेसी चलाइरहेकोको संख्या उल्लेख्य छ । त्यसैगरी बिक्री वितरण गर्ने अनुमति नै नल्याएर न्युटास्युटिकल सामग्री पनि फार्मेसीबाट बिक्री वितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ ।
अनुगमनमा संलग्न डा.हेमन्त ओझाले आफूहरूले निरिक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए ।