क्यामरुनमा भवन भत्किदाँ ३७ जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित चार तले भवन भत्कँदा ३७ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

भत्केको भवन अर्को आवासीय भवनमा खसेकाले आवासीय भवनमा रहेकाहरुको च्यापिएर मृत्यु भएको जनाइएको छ । सो घटना आइतबार राति भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् ।

भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताए ।

कमेन्ट गर्नुहोस्