काठमाडौं । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी केसीलाई बर्खास्त गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए ।
बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । केसीमाथि अनुसन्धान गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।