डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै, ६१९ जनामा डेंगु पुष्टि

काठमाडौं । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ३३० जना डेंगु सङ्क्रमित थपिएका छन् ।

यो सँगै ७० जिल्लामा चार हजार ६१९ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिए । डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा दुई हजार ९७१ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ७६७ जना, सुदूरपश्चिम प्रदेशमा ३१८, गण्डकी प्रदेशमा ३४७, लुम्बिनी प्रदेशमा १६८, कर्णाली प्रदेशमा २३ र मधेश प्रदेशमा २५ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८६ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै तीन हजार ९७६ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी दुई हजार ७३७, धादिङमा ४८३, दार्चुला १९०, कास्की २०८, सङ्खुवासभा ७५, काठमाडौं ८८, कञ्चनपुरबाट ५२, रुपन्देहीमा ४५, म्याग्दीबाट ५४ झापामा ४२ जनामा डेंगु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलिन नदिन हरेक शुक्रबार बिहान १०ः३० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हालभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्