आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न ऊर्जा विकास दसकको रोडम्याप तयार गर्दै उर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी १० वर्षलाई ऊर्जा विकास दशक घोषणा गरी नेपालमा २० देखि २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने गरी योजना बनाउन लागिएको बताएका छन् ।

अमेरिकन चेम्बरका प्रतिनिधि मण्डलसँग आज भेटघाटका क्रममा मन्त्री बस्नेतले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न रोडम्याप तयार गर्न लागिएको बताए । ऊर्जाको उत्पादनसँगै प्रसारण लाइन र वितरण प्रणालीको विकासको योजना पनि रोडम्यापमा रहने उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसका लागि नीतिगत सुधार समेत गर्ने गरी अध्ययन भइरहेको बताए ।

ऊर्जा क्षेत्रका नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी अपनाइने उल्लेख गर्दै मन्त्री बस्नेतले यसका लागि वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको थप संलग्नतालाई बढाइने जानकारी दिए । उनले त्यसका लागि थप नीति निर्माण गर्नुका साथै उपलब्ध नीति नियमहरुको सुधार गरिने बताए ।

मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष रुपमा देखिने गरी असर पर्न थालेको र त्यो बढिरहेको भन्दै त्यसका लागि पनि केही काम गर्नुपर्ने बताए । उनले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउनुपर्ने कुरामा जोड दिँदै यो कुरा पनि मन्त्रालयको रोडम्यापमा समेटिने जानकारी दिए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने रोडम्यापको लक्ष्य रहने बताए ।

कमेन्ट गर्नुहोस्