काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्।
समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’
भ्रष्टाचारका अरू धेरै फाइल खुल्ने प्रधानमन्त्री प्रचण्डले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ नभएकाले त्यसमा जनताको साथ र समर्थन जरूरी रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरू फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरूको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौं।’
अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाइँका रूपमा उनले चित्रण गरे।