काठमाडौं । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट एक हजार २४ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा २९१, सुदूरपश्चिम प्रदेश १७३, गण्डकी प्रदेशमा १७१, कोशी प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, कर्णाली १६ र मधेश प्रदेशमा १४ रहेका छन् । हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिए । यो सँगै ७० जिल्लामा पाँच हजार ६८८ जनामा डेंगु पुष्टि भएको छ । डा।मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा तीन हजार ८२१ जनामा डेंगु पुष्टि भएको छ ।
यसैगरी, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५ लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २६ र मधेश प्रदेशमा २७ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै चार हजार ९३९ जनामा डेंगु पुष्टि भएको छ ।
सुनसरी जिल्लामा सबै भन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा तीन हजार ४४८, धादिङमा ६५५, कास्कीमा २०८, दार्चुला १९१, काठमाडौँमा ९६, म्याग्दीमा ५८, मोरङमा ५७, कञ्चनपुरमा ५७, झापामा ५६ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
डा.मरासिनीका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउने रहेको छ । चिकित्सकका अनुसार डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने रहेको छ । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने हुँदा बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो सयमा थप सचेत रहन चिकित्सकको सुझाव छ।