काठमाडौं । भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच दुई सहर बीच एक आपसमा सहयोग आदन–प्रदान गर्दै दुई सहरका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको छ ।
तिब्बत प्रान्तको दोस्रो ठूलो हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधिमण्डलबीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबीच सहमती भएको हो ।
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले सिगात्से सिटीको न्यानो माया र आतिथ्यताप्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय जानकारी गराइन । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउँदै सिगात्से सरकार र यहॉका व्यवसायीहरूलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गरिन।
प्रमुख दाहालले सिगात्सेको चौतर्फी विकास लोभलाग्दो रहेको भन्दै मेयर वाड्ग फड्ग हुड्गलाई धन्यवाद दिदै अर्को पटक सिगात्से आउँदा सिगात्सेको समग्र विकास हेर्ने आशा रहेको भन्दै सिगात्से सिटीका नागरिकको मन जितेर अगाडि बढ्न शुभकामना व्यक्त गरिन । सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विषेश कार्यक्रम गरी मनाउन लागेको भन्दै भरतपुर भ्रमण वर्षमा सहभागि हुन मेयर वाड्ग उनको टिम र उनीमार्फत सिगात्सेवासीलाई निमन्त्रणा गरेकी थिइन ।
सो अवसरमा सिगात्से सिटीका प्रमुख वाड्गले प्रमुख दाहालसहित भरतपुरको प्रतिनिधि मण्डललाई सिगात्सेमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताउदै भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफुहरू सधै तयार रहेको भन्दै कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागिरकहरूको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रधान गरेर सानै भए पनि सहयोग पुर्याएको स्मरण गरिन ।
त्यसबखत प्रमुख वाड्गले नेपाल र तिब्वत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरको बताउँदै त्यसका लागि नेपाल सरकारको ध्यानआकर्षण गरिदिन मेयर दाहालमार्फत आग्रह गरे।सिगात्सेको पशुपालन व्यवसाय प्रवर्दनका लागि भरतपुरले साईलेज उद्योग सञ्चालन गर्न सहयोग पुर्याएर ठूलो सहयोग गरेको भरतपुरको घॉस अहिले सिगात्सेको कृषि फार्मका याक चौरी भेडा लगायतका लागि पौष्टिक आहारको रूपमा खपत भईरहेको छ ।
चीन नेपालको असल छिमेकी भएको स्मरण गर्दै प्रमुख वाड्गले सिगात्से सरकार भरतपुरमा आधुनिक प्रणालीमा कृषि क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको बताउदै सन २०२४ मा हुने भरतपुर भ्रमण वर्षलाई सफल पार्न सक्दो सहयोग गर्ने बताउँदै समय मिलाएर आफु भरतपुरको भ्रमण गर्ने बताए ।
महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यीय प्रतिनिधि मण्डलले सिगात्से सहरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवर्दनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साईलेज घाँसमार्फत पशुपालन गरिएको ऐभरेष्ट ऐग्रो फार्मको अवलोकन गरेको भ्रमणमा सहभागी भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । भ्रमण टोलीले तिब्बत प्रान्त अन्तर्गतका सरकार प्रमुहरूसँग उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।