काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बुधबारदेखि काठमाडौंमा कमलादीमा बसिरहेको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
बैठकमा नेतृत्वको कार्यशैली, सरकार संचालन, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ।
बैठकमा धारणा राख्ने क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु चन्दले प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई द्वेषपूर्ण आलोचनाको वेवास्ता गर्दै रचनात्मक सुझाव पालना गर्न सुझाएकी छन् ।
बैठकमा बोल्ने क्रममा उनले भनिन्- ‘चिवालय सदस्यहरूले द्वेषपूर्ण आलोचनाको वेवास्ता नगर्नुस् र रचनात्मक सुझाव पालना गर्नुस् ।’ चन्दले चर्चित हिन्दी गीतको एक पंक्ति स्मरण गर्दै भनिन् – ‘काम गर्दै जानू, कुछ तो लोग कहेंगे, लोगों का काम है कहना !’ चन्दले जनयुद्ध क्रममा महिलाहरू परिवारिक जिम्मेवारीसँगै परिवर्तनका लागि गरेको संर्घष र बलिदानीलाई बेलाबेलामा अपमान गर्ने गरीएको बताएकी छन् ।
महिलाहरूलाई जिम्मेवारी दिन नै कन्जुस्याँइ गरिने गरेको बताउँदै उनले प्रायलाई समानुपातिकमा थन्क्याइने वा कसैले जिम्मा पाए यो वा त्यो रूपमा आलोचना गर्ने गरिएको भन्दै दुःख व्यक्त गरेकी हुन् ।
चन्दले भनिन् – ‘महिलाहरूले मातृत्वमा सम्छझौता गरेर संघर्षमा योगदान दिएका छन्, जसले छोराछोरीलाई दूध खुवाउन समेत पाएनन्। बुवाले जति माया गरेपनि बच्चा जन्माउने त आमाले नै हो । तर यो पक्ष मूल्यांकन हुन्न । महिलाहरू समानुपातिकमा थन्क्याइए । जिम्मेवारी दिइन्न । कसैले जिम्मा पाएपनि यो वा त्यो रूपमा आलोचना हुन्छ ।’
परिवारसहित युद्धमा होमिएका व्यक्तिलाई महिला र छोरीको रुपमा मात्रै हेरेर आलोचना गरिनु गलत भएको उनको भनाई छ ।
परिवारसँगै जनयुद्धमा होमिएकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगा दाहाललाई प्रधानमन्त्री प्रचण्डको सचिवालयमा दिएको जिम्मेवारीबारे गरिएको टिप्पणी प्रति लक्षित गर्दै उनले महिलाहरुलाई जिम्मेवारी दिंदा यो वा त्यो रुपमा किन आलोचना किन गरिन्छ भनेर प्रश्न गरेकी हुन् ।
‘अहिले प्रम सचिवालयमा पार्टी केन्द्रीय सदस्य गंगा दाहाल छिन् । उनको आलोचना गर्नुको अर्थ छैन ।एकजना योद्धा जसले सबैथोक गुमाउने संकट बोकेर परिवारसहित युद्धमा होमिएको कुरा हेर्ने कि नहेर्ने ?’ उनको प्रश्न थियो ।
आजको बैठक स्थगित भएको छ भोलि ११ बजे पुनः बस्ने छ ।