संसदको गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

संसदको गतिरोेध हटाउन सभामुख घिमिरेले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग संसद बैठक बस्नु अघि मध्याह्न १२ बजे आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले छलफलमा सहभागि हुन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गरेका छन् ।

सभामुख घिमिरेले आइतबार संसदको गतिरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको थियो ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका कारण साउन १० देखि संघीय संसदका दुवै सदन अवरुद्ध छन् ।

कमेन्ट गर्नुहोस्