मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर-हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै आर्थिकरुपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए ।

युएनका आवासीय संयोजक हाना सिङ्गर–हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने विश्वास जनाइन ।  “स्वास्थ्य मन्त्रालयको योजना र नीतिअनुसार कुन क्षेत्र र कस्ता विषयमा कार्यक्रम केन्द्रित गर्नुपर्ने हो भन्नेबारे चाँडै नै छलफल गरेर टुङ्ग्याउन सकिन्छ”, उनले भनिन्, “सङ्घीय सरकारसँगै प्रदेशसँग पनि हामीले कसरी सहकार्य गर्न सक्छौँ भन्नेबारे स्पष्टता आवश्यक छ ।” नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताइन ।

युएनअन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उनले त्यसमा सहजीकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन । जवाफमा स्वास्थ्यमन्त्री बस्नेतले यो हप्ता आफू भारत भ्रमणमा रहने जानकारी दिँदै सो भ्रमणबाट फर्किएपछि सरोकारवाला निकायसँग छलफल गरी युएनअन्तर्गतका निकायसँग ‘कसरी समन्वय गर्न सकिन्छ’ भन्ने विषयमा कार्ययोजना तयार गरिने बताए ।

कमेन्ट गर्नुहोस्