जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छिन् ।

सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढङ्गले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन् ।

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिंदै नवनियुक्त मन्त्री साहले आम नागरिकका लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । पार्टीले दिएको निर्देशन अनुसारभन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उनको भनाइ थियो ।

मन्त्री साहले भनिन्, ‘सरकारी निकायको जति पनि काम कारबाही हुन्छ । आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाह हामीले कसरी दिनसक्छौं ? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौँ । पार्टीको कुरा यसमा आएन । संविधान अनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं ? त्यसमा लाग्ने हो ।’

जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त भएकी हुन् । यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमनलाल मोदीलाई साउन २८ गते आइतबार मन्त्री पदबाट फिर्ता बोलाइएको थियो ।

जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो । अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिए पनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्