सिन्धुपाल्चोक । वर्षासँगै आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ ।
लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे ।
अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने बताउँदै उनले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजनास्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए । अध्यक्ष शेर्पाका अनुसार अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ ।
बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए ।