प्रतिनिधिसभा विघटन गरेर ठिक गरेकाे ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय ठिक भएको दाबी गरेका छन् । संसद विघटन नगरी नहुने भएकाले विघटन गरेको उनको भनाइ छ ।

मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर समेत गरेका छन् ।

ओलीले भने, ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यौं । विघटन गर्‍यौं । हामीले ठिक ठानेर गर्‍यौं । ठिक भनेर गर्‍यौं । ठिक थियो र गर्‍यौं । नगरी नहुने थियो र गर्‍यौं । बिल्कुलै समसामयिक कदम चाल्यौं । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौं । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधिसभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो ।’

कमेन्ट गर्नुहोस्