सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउने गरी अगाडि बढेको बताएका हुन् ।

नेपाल ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित हुनुपर्ने बेला आएको प्रधानमन्त्रीको भनाइ छ । त्यसका लागि सरकारले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने तयारी गरेको उनले बताए ।

प्रधानन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताए। १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया र निर्माण प्रक्रिया अगाडी बढाइएको समेत उनले जानकारी दिए ।

त्यसैगरी, १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताए।प्रधानमन्त्री प्रचण्डले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताए ।

प्रधानन्त्री प्रचण्डले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउनेगरी विद्युत प्राधिकरण लागिपरिरहेको बताए । उनले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

कमेन्ट गर्नुहोस्