भारतका प्रितम राई मेरो भ्वाइस विजेता

ललितपुर। नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि भारतका प्रितम राईले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले हात पारेका छन् ।

त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए। ती प्रतियोगिताको आज भएको अन्तिम प्रतिस्पर्धा ग्रान्ड फिनालेमा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा स्रोताको मतबाट छानिएका हुन् ।

मेरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईँ (नेपाल) थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहेका छन् । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल ९नेपाल० र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहेका छन् ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख, थर्ड रनरअपले रु १० लाख र फोर्थ रनरअपले रु पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

आज साँझ गोदावरीको सनराइज कन्फ्रेन्स् हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले रु २० लाख पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठान (धरान)ले रु १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत)ले पाँच लाख प्राप्त गरेको छ ।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुरस्कार प्रदान गरे कलाकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको ठूलो सङ्ख्याको उपस्थिति रहेको उक्त ग्रान्ड फिनालेमा विजेता र उपविजेता घोषणा गरिएको र उनीहरूलाई प्रधानमन्त्री दाहालले बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले प्रचण्डले यो कार्यक्रमले संसारभर छरिएका नेपाली भाषीहरूको एकता र सहकार्यको सन्देश दिएको बताए ।

कमेन्ट गर्नुहोस्