रुसको लुना-२५ यान चन्द्रमामा दुर्घटनाग्रस्त

काठमाडौं । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो ।

मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना-२५ को सम्पर्क टुटेको थियो । ‘अकल्पना नगरेको कक्षमा यान पुग्यो चन्द्रमाको सतहमा पुगेर दुर्घटनाग्रस्त भयो’, रस्मोकसले भनेको छ ।

दक्षिणी ध्रुवमा भारतभन्दा पहिला पुग्ने रुसको यो होड असफल भएको छ । भारतले आफ्नो चन्द्रयान-३ यसै साता चन्द्रामाको सतहमा अवतरण गराउँदै छ ।

हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।गत अगस्ट १० मा प्रक्षेपण गरिएको लुना-२५ चन्द्रमाको कक्षमा ६ दिनपछि पुगेको थियो । लुना-२५ को ल्यान्डरले विभिन्न ८ किसिमका वैज्ञानिक उपकरणहरु पनि साथै लगेको थियो ।

तत्कालीन सोभियत युनियनले लुना-२४ मिसन सन् १९७६ मा प्रक्षेपण गरेको थियो । उक्त मिसन सोभियत युनियनको चन्द्रामाबाट माटो ल्याउने तेस्रो मिसन थियो । लुना१६ र लुना-२० ले चन्द्रामाबाट माटो ल्याएका थिए । लुना २४ ले चन्द्रमाबाट १७० ग्राम स्याम्पल कलेक्सन गरेर ल्याएको थियो ।

कमेन्ट गर्नुहोस्