भारतले गरायो चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान– ३ को सफल अवतरण

काठमाडौं । दक्षिण एसियाली मुलुक भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफलतापूर्वक अवतरण गराएको छ । यससँगै चन्द्रमाको दक्षिणी ध्रुवमा यान सफलतापूर्वक उतार्ने भारत पहिलो देश बन्न पुगेको छ ।

प्रक्षेपण गरेको ४० दिनमा तीन लाख ८४ हजार चार सय किलोमिटरको दूरी पार गर्दै चन्द्रयान– ३ भारतीय समयअनुसार बुधबार साँझ ०६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण भएको हो । यानलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान ‘इसरो’ले १४ जुलाईमा दक्षिण भारतस्थित श्रीहरिकोटा प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको थियो ।

चन्द्रयानको अवतरणलाई इसरोले नियन्त्रण कक्षबाट लाइभ प्रसार गरेको थियो । लाइभमा ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिकाको राजधानी जोहानेसबर्गमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि जोडिएका थिए ।

चन्द्रयानले सफल अवतरण गरेपछि प्रधानमन्त्री मोदीले यो भारतको मात्र नभई सम्पूर्ण मानवताकै सफलता भएको बताए ।

प्रधानमन्त्री मोदीले लाइभ प्रसारणबाट सम्बोधन गर्दै भने, ‘भारतको सफल चन्द्र–अभियान भारतको मात्र होइन । यो अभियान मानव–केन्द्रित दृष्टिकोणमा आधारित छ र यसको सफलता सम्पूर्ण मानवताको सफलता हो ।’

इसरोका प्रमुख एस सोमनाथले यो काम इसरोका एक पुस्ताका वैज्ञानिकहरूको काम भएको बताए । उनले भने, ‘यो हाम्रो एक्लो काम होइन, यो इसरोका एक पुस्ताका वैज्ञानिकहरूको काम हो ।’

यानमा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल्ससहित तीन भाग छन् । यानको कुल तौल एक हजार सात सय किलोग्राम रहेको छ । यानमा चन्द्रमाको भित्री सतहको हलचलको समेत चालपाउने सिस्मोमिटर पनि समावेश छ ।

ल्यान्डर र रोभर चन्द्रमाको सतहमा करिब दुई हप्ता सञ्चालन हुने अपेक्षा गरिएको छ । प्रोपल्सन मोड्युल्स भने चन्द्रमाको कक्षमा नै रहेको छ र यसले यानबाट तथ्यांक तथा संकेतहरू लिएर पृथ्वीमा पठाइरहनेछ । चन्द्रमाको सधैँ छायामा रहने यो दक्षिणी ध्रुवमा जमेको पानी र बहुमूल्य पदार्थहरूको महत्वपूर्ण भण्डारण हुन सक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

चन्द्रमाको कक्षमा प्रवेश गरेपछि चन्द्रयान– ३ का क्यामेराले केही फोटोसमेत खिचेको थियो । २० अगस्टमा यानले खिचेको एउटा तस्बिर इसरोले मंगलबार सेयर गरेको छ । सो तस्बिरमा चन्द्रमाको धुलाम्मे खैरो सतहको ‘क्लोज–अप’ दृश्य देखिन्छ । यो अभियानमा करिब सात करोड ५० लाख डलर (पाँच अर्ब २० करोड भारतीय रुपैयाँ) खर्च भएको बताइन्छ ।

चन्द्रमाको यही क्षेत्रमा अवतरण गर्ने उद्देश्यले गएको रुसी अन्तरिक्ष यान लुना २५ इन्जिनमा खराबी उत्पन्न भएपछि चन्द्रमाको सतहमा अगस्ट १५ मा ‘क्र्यास’ भएको थियो । पछिल्लो ४७ वर्षमा रुसको यो पहिलो चन्द्र अभियान थियो ।

कमेन्ट गर्नुहोस्