काठमाडौं । सरकारले विद्यार्थीहरूका लागि आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउने समय थप गरेको छ ।यसँगै विद्यार्थीहरूले आफ्नो प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने भएका छन्। बुधबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ बुधबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।
यो नियमावली पारित भएसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउन पाउने समयावधि साढे चार वर्ष थप भएको छ । यसअघि विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र मात्रै नाम, जात र उमेर सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्था थियो।
अब विद्यार्थीले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने छन्। यसले नाम, जात र उमेर लगायतका विवरण फरक परेका विद्यार्थीलाई राहत हुने भएको छ ।
यसअघिका विद्यार्थीलेसमेत यो उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्थासमेत गृह मन्त्रालयले गरेको छ।