आजदेखि भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले आज (मंगलबार) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको छ ।

भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने भएको हो । अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ ।

निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गरेको छ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने बताइएको छ ।

यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

कमेन्ट गर्नुहोस्