एसिया कप किक्रेट : पाकिस्तानी कप्तान बाबरको शतक,नेपालले पायो विशाल लक्ष्य

काठमाडौं । आजबाट सुरु भएको एसिया कप किक्रेटमा नेपाल र पाकिस्तानबीचको खेल जारी छ । नेपालविरुद्ध पाकिस्तानी टिमका कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेका छन् । नेपालले ३ सय ४३ रनको विशाल लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको हो ।

उत्कृष्ट सुरुआत गरेको भएपनि नेपालको फिल्डिङ जोगिन नसक्दा विशाल लक्ष पाएको हो । पाकिस्तानको तर्फबाट बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए ।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा खर्चेको सबैभन्दा बढी रन हो । जुनमा जिम्बावेमा भएको विश्वकप छनोटमा वेस्ट इन्डिजले बनाएको ३३९–७ को स्कोर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खर्चेको सबैभन्दा बढी रन थियो । नेपालले एकदिवसीयमा केवल तेस्रो पटक ३ सयभन्दा बढी रन खर्चेको हो ।

खेलको पहिलो ओभरमा फाखर जमानले सोमपाल कामीलाई २ चौकासहित ९ रन प्रहार गरेका थिए । त्यसपछि सोमपाल र उनका ओपनिङ बलिङ जोडी करण केसीले राम्रो बलिङ गर्दै पुनरागमन गरेका थिए । पाँचौं ओभरमा सोमपालको बलमा आरिफ शेखले क्याच लिन नसक्दा इमाम उल हक जोगिएका थिए ।

तर, आरिफका भाई, विकेटकिपर आसिफ शेखले उत्कृष्ट डाइभिङ क्याच लिएपछि करण केसीले जमानलाई १४ रनमा आउट गरेका थिए । गुल्शन झाले डिप स्क्वायरमा फितलो फिल्डिङ गरेपछि बाबर आजमले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । तर, अर्को ओभरको पहिलो बलमै रोहितले मिडअफबाट सिधा थ्रोमा इमामलाई ५ रनमा रन आउट गरेका थिए ।

मोहम्मद रिजवान पनि रन आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा रनआउट गरे । त्यसभन्दा अगाडि रिजवानले कप्तान बाबरसँग तेस्रो विकेटमा ८६ रनको महत्त्वपूर्ण साझेदारी गरिसकेका थिए । रिजवानले ५० बल खेली ६ चौकासहित ४४ रन बनाए । सन्दीप लामिछानेले सल्मान अघालाई ५ रनमा आउट गर्दा पाकिस्तान २८ औं ओभरमा १२४–४ को स्थितिमा थियो ।

बाबरले १ सय ९ बलमा शतक पुरा गरेका थिए । यो उनको १९ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो । बाबरले दोस्रो पटक एकै खेलमा १ सय ५० भन्दा बढी रन बनाएका हुन् । उनी आफ्नो उच्च स्कोरभन्दा ७ रनले पछाडि रहे । १ सय ३१ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

अहमदले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए । उनले ६७ बलमै शतक पुरा गरेका थिए । बाबर र अहमदले पाँचौं विकेटमा २ सय १४ रनको साझेदारी गरे । अहमदले ७१ बल खेल्दै ११ चौका र ४ छक्का प्रहार गरे ।

अन्तिम ओभरको चौथो बलमा सोमपालले लङ अफमा वैकल्पिक फिल्डर सन्दीप जोराबाट क्याच गराए । सदाब खानले आफुले सामना गरेको पहिलो बलमा चौका प्रहार गरे पनि इनिङ्सको अन्तिम बलमा उनलाई सोमपालले बोल्ड गरे । सोमपालले १० ओभरमा ८५ रन खर्चन पुगे ।

यस्तै, मध्यक्रममा खेल्न आएका इफ्तिखार अहमदले ७१ बलमा अविजित १०९ रन बनाएका थिए । अहमदले आजमसँगको साझेदारीमा कुल २१४ रन बनाएसँगै पाकिस्तान ठूलो स्कोर खडा गर्न सफल भएको हो । पाकिस्तानका लागि मोहमद रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्