भ्रष्टाचारविरूद्ध दायाँ बायाँ नहेरी अभियान चलाएका छाैं : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डद्धारा राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन्।

बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको बताएका हुन् ।

केही मानिसले प्रधानमन्त्री माओवादीका नेता तथा कार्यकर्ता बचाउन लागिरहेको भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले गल्ती गरेको भए कसैले पनि छुट नपाउने उल्लेख गरे । सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारबाट कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको उल्लेख गरे । उनले सत्ता टिकाउनको लागि समाजवादी मोर्चा गठन नगरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पार्टी नेतृत्वप्रति नेता र कार्यकर्तामा ठूलो असन्तुष्टि भएकाले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने संकेतहरू देखिएको बताए ।

सभालाई सम्बोधन गर्दै सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाहाल नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरे । सरकारले सही काम गरिरहेको र राम्रो उद्देश्यका निम्ति बनाएका गठन भएकाले वर्तमान सरकारलाई देशी, विदेशी कुनै पनि शक्तिले हल्लाउन नसक्ने अध्यक्ष नेपालको दाबी छ । एमसीसी आर्थिक सहयोगमात्रै भएको र यसलाई अन्य विषयसँग जोडिन नहुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अन्य सरकार जस्तो नभएको बताउँदै भ्रष्ट्राचारविरुद्धको लडाईमा आफ्नो पार्टीको सधै साथ र सहयोग रहने बताए। नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भईरहेको टिप्पणी गर्दै महासचिव चन्दले एमसीसी जनताको हितमा नभएको समेत बताएका थिए ।

कमेन्ट गर्नुहोस्