काठमाडौं । चीनसँगको तातोपानी नाका आज शुक्रबारदेखि मानव आवतजावतको लागि खुलेको छ ।
२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको नाका आठ वर्षपछि मानिसकाे आवतजावत सुरु भएको छ ।
दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो ।
तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन । सिन्धुपाल्चोकको भोटेकोशीका गाउँपालिकाका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर आज बिहान नाका खोलिएको हो । लामो समयपछि चिनियाँ क्षेत्रमा प्रवेश गर्न पाउँदा स्थानीय खुशी भएका छन् ।
नेपाल र चीन दुबै देशका अधिकारीबीच भएको समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ला गरिएको हो । त्यसका लागि तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यागमन कार्यालयले पासको व्यवस्था गरेको छ । कोदारीस्थित अध्यागमन कार्यालयका अनुसार चिनियाँ भूमिमा प्रवेशका लागि आजसम्ममा २ सय २७ वटा पास जारी गरिएको छ । सो पासले सीमापारी ३० किलोमिटर क्षेत्रसम्म नेपालीहरुले जान पाउने छन् ।