काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।
मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन्। शुक्रबार काठमाडौमा शुरु भएको ट्रेड एक्स्पो उद्घाटन पछि सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन् । ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाई थियो ।
उनले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरूसँग औपचारिकरअनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।
त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनिकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे ।