पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको बताएका छन् । जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि माओवादी एकै ठाउँमा उभिसकेको उनले बताएका छन् ।
समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले परिवर्तन र गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चा आवश्यक रहेको बताएका हुन् । शुक्रबार पोखराको सभागृहमा आयोजित सभामा उनले गणतन्त्र कमजोर हुन थालेपछि, क्रान्तिबाट पछारिएको प्रतिगामी पुनः उठ्न थालेपछि क्रान्तिकारीतर्फ अतिक्रमण हुन थालेको उनले बताए ।
व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान स्मरण गर्दै चन्दले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताए ।
सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई हत्याराको प्रचार गरिएको भन्दै उनले यस्ता कुप्रचारमाथि माओवादी एकै ठाउँमा उभिएर लड्ने बताए ।
नेता चन्दले प्रतिगामीविरूद्धको आन्दोलनमा लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताएका थिए । क्रान्तिकारीलाई पश्चगामी तत्त्वले आक्रमण गर्न खोजेपछि फुटहरू एकता हुन्छन् । उनले कम्युनिस्टको अस्थायी फुटलाई कसैले नकरात्मक रूपमा लिन्छ भने समाजवादी मोर्चाबाट कम्युनिस्ट एक ठाउँमा उभिन आउने बताए ।