काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी नेतृत्वप्रति नेपाली जनताले भरोसा गरेको बताएका छन् ।
शनिबार काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले अहिलेको सरकार र माओवादी नेतृत्वप्रति नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको बताएका हुन् ।
आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको प्रधानमन्त्रीको भनाई छ ।माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डा र जनताको भरोसाको बलमा आफू तेस्रो पटक प्रधानमन्त्री बनेको उनले बताए ।
आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले भने- ‘विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो। यो अद्भुत परिघटना हो। नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन। यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरू पार्टीहरूको पनि भरोसा छ। हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो’,
प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्ने बताए। उनले प्रतिक्रियावादीले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने प्रयास गरिरहेको भन्दै त्यसप्रति आम जनतालाई माओवादी पार्टीले सचेत बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो परास्त भएका तत्त्व फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो सङ्ख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन। तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो। ९० र ८० सिट भएका पार्टीका अगाडि ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन। सजिलो कुरा त होइन यो। हाम्रो इतिहासको तागत, हाम्रा सहिदले बगाएको रगतको तागत, हाम्रो बेपत्ता हजारौँ योद्धाको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो सङ्घर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरूको, कार्यकर्ताहरूको र मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतको कारणले ३२ सिट भए पनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो। ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौँ। बरु सदनमा भएका ८० र ९० वाला पार्टीको समर्थन पायौँ।’
आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।