काठमाडौं । आत्महत्या रोकथामको लागि सञ्चालन गर्दैआएको हेल्पलाइन ११६६ मा सेवा लिनेको सङ्ख्या बढ्दैगएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरकारले आत्महत्याको सोच आए, आफूलाई गाह्रो भएमा निःशुल्क फोन गर्न मिल्ने हेल्पलाइनमा सेवा लिनेको सङ्ख्या बढ्दैगएको हो ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल पाटनमा २०२१ मे बाट यो हेल्पलाइन सञ्चालन गर्दैआएको छ ।
कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, हाम्रो वरिपरि भएको कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको प्रयास गर्दागर्दैको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले उक्त हेल्पलाइन सुरु गरेको हो ।
टिपिओ नेपालका परामर्शदाता पार्वती श्रेष्ठका अनुसार हेल्पलाइन अहिलेसम्म १३ हजार ६ जनाले सेवा लिएका छन् । सुरुका महिनामा मासिक २६० जनाले सेवा लिएका थिए त्यस्तै, २०२२ मा ५५० जनाले महिनामा सेवा दिएको तथ्याङ्क छ । २०२३ मा सुरु भएदेखि अहिलेसम्म महिनामा ६२४ जनाले सेवा लिने गरेका छन् ।
हेल्पलाइनमा मानसिक स्वास्थ्य समस्या भएर फोन गर्नेहरूको सङ्ख्या तीन हजार २१३, आत्महत्याको सोच आएमा ११ सय ३१ वटा कल आएको छ । ४६० जनाले विभिन्न समयमा आत्महत्यासमबन्धि सोच आएको र विभिन्न समयमा आत्महत्याको प्रयास गर्नेगरेको कलमार्फत सुनाएका थिए ।
आत्महत्या प्रयास गर्दागर्दैको अवस्थामा फोन आएर ११६६ ले अहिलेसम्म १७ जनाको जीवन जोगाएको श्रेष्ठले जानकारी दिए । हालसम्म नेपाल टेलिकमको नम्बर मात्रै यो सेवा उपलब्ध भएकोमा आजबाट एनसेलले पनि यो सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
मनो रोग चिकित्सक डा.वासुदेव कार्कीले पछिल्लो समय आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दैगएको जानकारी दिए । डा.कार्कीले मानसिक समस्याबारे खुलेर संवाद गरेमा, परामर्शमा रहन सकेमा आत्महत्या रोक्न सकिने जिकिर गरे ।
कार्यक्रममा अस्पताल निर्देशक डा।अनन्त अधिकारीले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले मानसिक स्वास्थ्यबारे जनतालाई चेतना जगाउन आमसञ्चार माध्यमको भूमिका ठुलो रहेको बताए।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एनसीडि तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणीन्द्रप्रसाद बरालले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा छ हजार ९९३ जनाले आत्महत्या गरेका छन् । विश्वमा बर्सेनि सात लाख मानिले आत्महत्याको कारणले ज्यान गुमाउने गर्दछन् । प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।