काठमाडौँ। आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा (३ सिफ्ट) सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बस्तीमाथि रहेको ढुंगो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ। पौडेलले भने, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ। ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य भइरहेको छ।’’
आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुंगो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी बिस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाएका थिए ।