रुपन्देही । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि विष्णु पौडेल र शङ्कर पोखरेल खेमाबीच प्रतिस्पर्धा हुने भएकाे छ । नेतृत्वकालागि मतदान सुरु भएको छ । भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो ।
बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए।
कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शङ्कर पोखरेल निकटका हुन्। लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।
सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उहाँहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मी हुन्।
यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दिया लिला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् ।