काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् । सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए। उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन आग्रह गरेका छन्।
सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई नराख्न आग्रह गरे । उनले समितिका २७ जना सांसदहरुले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताए। उनले समितिले गर्ने निर्णयहरुमा सर्वसहमति गर्ने प्रयास गर्ने बताए। उनले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताए ।
उनले समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरु बनाएर काम अगाडि बढाउने बताए । उनले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताए ।