सुन प्रकरण : अध्यागमनका महानिर्देशकसहित करिब सय जनाको बयान

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिनामंगलमा बरामद ६१ किलो सुन तस्करी गर्ने गिरोहसँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क देखिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित करिब एक सय जनासँग बयान लिएको छ । सुन तस्करसँग साँठगाँठ देखिएको भन्दै महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।

उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई सीआईबीले केही दिनयता बोलाएर सोधपुछ गरिरहेको छ । यसक्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सीआईबीले सोधपुछ गरेको छ ।यो प्रकरणमा जोडिएका २७ जना हाल प्रहरी नियन्त्रणमा छन् भने सोधपुछ गरिएका अन्यलाई बोलाएका बेला उपस्थित हुने गरी कागज गराइएको स्रोतले जनाएको छ ।

यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ । अरु केही प्रहरी अधिकृतहरू पनि थप प्रमाण जुटाउन भारत गएका छन् । सोमबारमात्र नेपाल(भारत सीमा क्षेत्रबाट सुन तस्करीका आरोपित सुमन खरेल पक्राउ परेका थिए । उनलाई मंगलबार साँझसम्म काठमाडौं ल्याउने तयारी छ ।

कमेन्ट गर्नुहोस्