अराजक बन्दै राजावादी समुह : कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आफुलाई राजावादी बताउँने एक व्यक्तिले काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार गरी घाइते बनाएका छन् ।

बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।

खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । खुकुरी प्रहारबाट यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय विभिन्न पार्टीका शीर्ष नेतामाथि आफूलाई राजावादी बताउँदै हिड्ने समूह अराजक बन्दै भौतिक रुपमै आक्रमणमा उत्रिन थालेको छ । यसअघि १७ जेठमा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालमाथि समेत सार्वजनिक मञ्चमै अभद्र व्यवहार भएको थियो ।

आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिले खनालमाथि अभद्र व्यवहार गरेका थिए । त्यो बेला प्रहरीले सन्तोषसहित ९ जनालाई पक्राउ गरेको थियो । अनामनगरमा राखेको अन्तरक्रिया कार्यक्रममा खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेललगायतका नेता उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्