एमालेभित्र बिस्फोट हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन् ।

बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले) भित्र बिस्फोट र बिद्रोह हुने बताएका हु्न् । उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताए ।

नेता खनालले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गरे। उनले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताए ।

नेता खनालले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए । उनले एमाले राप्रपा, लोसपा र कांग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताए । उनले एमाले भयानक अलमलमा रहेको टिप्पणी गरे ।

नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उनले बताए । उनले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताए ।

नेता खनालले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताए । उनले आफूहरु आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए।

कमेन्ट गर्नुहोस्