काठमाडौं । इन्टरपोलको शताब्दी समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘इन्टरपोल कफी टेबल’ पुस्तकको विमोचन गरेका छन् ।
बुकमा नेपाल प्रहरी र इन्टरपोलको सहकार्यमा गरीएका कार्यहरुको प्रगति विवरण समावेश गरिएको छ । उक्त पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी अपराध विरुद्धको लडाईमानेपाल र इन्टरपोलबीचको बलियो सहकार्य रहेको बताए ।
विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति, स्थिरता र कानूनको शासन प्रवर्द्धन गर्न नेपाली सुरक्षा फोर्सको महत्वपूर्ण भुमिका रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले भने-‘हाम्रो सुरक्षा बलको संयुक्त राष्ट्रसंघसँगको सहकार्यले नेपालमा मात्र नभई विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति, स्थिरता र कानूनको शासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। हाम्रा अधिकारीहरूले संयुक्त राष्ट्र शान्ति मिसनहरूमा भाग लिएका छन्, खतरनाक स्थानहरूमा र अविश्वसनीय रूपमा कठिन परिस्थितिहरूमा शान्ति र सुरक्षामा योगदान पुर्याएका छन् र उनीहरूले अहिले पनि शान्तिको लागि आफ्नो जीवन जोखिममा राखिरहेका छन्। आजको यो अवसरमा म शान्ति सैनिकको हैसियतमा कर्तव्य पालना गर्दै आफ्नो जीवन आहुति दिने सम्पूर्ण वीर आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।’
अहिले विश्वले साइबर सुरक्षाका क्षेत्रमा नयाँनयाँ खतरा र चुनौतीहरूको सामना गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवादको अन्त्यका लागि सूचना आदानप्रदान, खुफिया आदानप्रदान र क्षमता बढाउनुपर्ने बताए ।